गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

Love letter that never reached the girl...

I still remember that day, the day when as usual I was 10 minutes early for the tuition...

Paradise Sikkim Facebook Page

Come, explore this tiny himalayan paradise state Sikkim.

Sunday, August 6, 2017

अस्पतालले जन्माएका यादहरु...

पोहोर साल यसै महिना, आमा अपरेसनको लागी अस्पतालमा भर्ती हुनुहुन्थ्यो। आमाको बेडको छेवैको अर्को बेडमा एकजना दिदी थिई। झट्ट हेर्दा ६०-७० जस्तो देखिने तर वास्तवमा उनको उमेर ४०-४५ मात्र थिएछ्... बिमारले साँच्चै मान्छेलाई कति चाड़ो बुड़ो जस्तो बनाई दिन्छ। उनलाई अक्सिजन लाएर राखिएको थियो, एक हातमा डिप्सको पानी चड़ाईएको थियो भने अर्को हातबाट रगत्। बेडको दुवैपटी स-सानो प्लास्टिकको थैलो झुण्डिएको थियो, एउटा थैलोमा शरिरको मैला रगत जमा हुन्थ्यो भने अर्को थैलोमा पिसाब। छेवैको मसिनबाट दिक्क लाग्दो ‘टिँ...टिँ...टिँ...’ आवाज बजिरहन्थ्यो। यसो बिरामी हेर्दा नै मनै अमिलो भएर आउने...
ति दिदीको दुई छोरीहरु बिरामी रुँग्न बसेका थिए। उनिहरु यसरी अस्पतालमा बसेको धेरै महिना भई सकेको कुरा गर्थे। तिनीहरु भन्थे कि तिनको बिमारीको पत्तो लाग्न नसकेर दबाई उल्टा-पाल्टी भएपछि उनको स्वास्थ बिग्रिदै गएको थियो। छ महिना अघिसम्म उनलाई केहि रोग थिएन रे... अलि अलि बिमार लागेर अस्पताल देखाउन ल्याएपछि र दबाई खान थालेपछि उनको यो दशा हुन गयो।
म ति छोरीहरुले आमाको स्याहार-सुसार गरेको देखेर छक्कै पर्थे। उस्तै हुँदो हो त यतिका महिना सम्म अस्पताल बस्नु पर्दा कति झर्को-फर्को लाग्दो हो, कति रिस उठ्दो हो, कति हरेस लाग्दो हो... तर उनिहरुमा झर्को-रिस पटक्कै देखिन्थिएन्।
बिहानै उठेर आमालाई तुर्लुङै झुण्डाएर दिसा बस्न लानु, मैला रगत र पिसाबको थैलो फेरिदिनु, खाना खुवाउनु, आमासंग गफ गर्नु, छोरी कस्तो हुनु पर्ने... उदाहरण नै थिए तिनीहरु। उता आमा भने मान्छे चिन्न छाड़ीसकेकि थिई... कहिले नर्सलाई छोरी सम्झेर, ‘ईंजेक्सन लाँउदा पुरा दुखाँउछ यो नर्सले’ भनेर नर्सलाई नै पोल लाउने त कहिले छोरीलाई नर्स सम्झेर, ‘कहिले जाती हुन्छु सिस्टर...?’ भनेर सोध्ने।
एक रातको कुरा... हामी सबै निदाँउदै थियौं, अचानक कोही जोड़ले काल्लियो... सबैजना निंन्द्राबाट ब्युँझिएर उठे। लाईट बल्यो, नर्सहरु कुदेर आए... ति दिदी एकोहोरो उँभो फर्किएर आँखा झिमिक्क नगरी बर्बराई रहेकि थिई। एउटी छोरीले कान आमाको मुखमा लगेर सुनी। म पनि केहि सहायता गर्नु पर्छ कि भनेर छेवैमा गए। ति दिदी भन्दै थिई, ‘खोर्सानीको बोटपनि जम्मै कुखुराले खोर्सी सक्यो होला... गोड़्नु पनि पर्ने... चित्राले ओरी-परी बारेको भा त ढुक्कै हुन्थ्यो...!’ यति भनिसक्दापनि तिनको आँखा एकपल्ट झिमिक्क गरेन, शुन्यतिर हेरेर बर्बराई रहेकि थिई...। कोठा सानसुन्न थियो, केवल ति दिदी बोलेको र छेवैको मसीन ‘टिँ...टिँ...’ गरेको मात्र सुनिन्थ्यो।
छोरीले आमाको निधारमा हात राख्दै भनि, ‘आमा सुर्ता नगर्नुस... कुखुरा त जम्मै हामीले बड़ालाई पाल्नु देको छुम... तँपाई जाती भएपछि खानुपर्छ ल... कत्रो कत्रो भाको छ! खोर्सानीपनि लटरम्मै फलिराको छ... म भन्दा अग्लोअग्लो भएर फलेको छ!’
ति दिदीको आँखाबाट केही थोपा आँशु तरर झरेर कानतिर पस्न खोज्यो... छोरीले हतार-हतार आँशु पुछिदिई... मलाई भक्कानो फुटेर आयो, झण्डै रोईपठाए। त्यो रात निकै राती सम्म निंद्रा लागेन...
यसरी दिन बित्दै गयो… आमापनि निकै जाती हुनुभयो। डाक्टरले घर लाँदा हुन्छ भनेपछि म र मेरी दिदी हाम्रो सामान-तामान बाँध्न थाल्यौं। लुगा मिलाँउदै मैले उता हेरिपठाए... एउटी बहिनी हामी तर्फ हेरिरहेकी रहिछ। त्यो गहिरो आँखामा खै कस्तो भाव देखे... उनिहरु यतिका महिना अस्पतालमा छँदा मेरी आमा जस्ता सयौं बिरामी आए, जाती भए र गए होला। उनिहरुलाई पनि कुनै दिन यसरी नै उज्यालो अनुहार बनाएर लुगा-फाटा पट्याएर, सबैसँग बिदा माँगेर आमालाई जाती बनाएर घर लिएर जानु कति मन थियो होला...
हामीले बिदा माँगेर गएको हेरीरहि... मैले भने कुनिकिन आँखा जुधाउनु सकिन। अस्पतालमा बस्दा कति छिटो मान्छे आफ्नो हुन जान्छ... एक-दुई दिनको भेट-घाटमा नै उहिलेदेखि देखिरहेको, चिनिरहेको, आफ्नै जस्तो समस्या भएको, एकै स्तरको भान हुन जान्छ। हामी आमालाई जाती पारीवरी घर लिएर गयौं।
आमा धेरै दिन सम्म ति दिदीको बारेमा कुरा गरि रहन्थी। कस्तो भई होला... अब त जाती भएर घर गई सकि होला। एकपल्ट हेर्नु जाने, भेट्ने ठुलो ईच्छा थियो आमाको... तर कतिपय कारणवस त्यो ईच्छा पुरा भएन...।
आमाको अपरेसन भएकोपनि कति चाड़ै एक साल बितीसकेछ्। आज गांतोकको एम.जी. मार्ग घुम्दै गर्दा एउटी बहिनीलाई देखे... कता देखेको चिने-चिने जस्तो अनुहार। केहि बेर घोरिएर सोँच्दा याद आयो, उ त उहि छेवैको बिरामी दिदीकी छोरी पो रहिछ...
म गएर बात गर्न लागे। लागेथ्यो उसकी आमापनि जाती भईसकि होला, अस्पतालमा भने जस्तै खोर्सानीको बोट गोड़्दै होली, बारी खोदाल्नु आउने कुखुरा धपाँउदै होली तर अभाग्यवस... हामी छुटेको हफ्ता दिन नपुग्दै तिनी बित्नुभएछ। ‘यो एघार्ह तारिख त टक्कै एक बर्ष पुग्छ!’ भन्दा म झसंगै भए। मलाई कुनि किन मेरो आमाको साह्रो माया लागेर आयो।
ति बहिनी सँग बिदा लिएर हिड़ेपछि मैले आमालाई फोन गरे... मेरी आमा उता गाँउमा खोर्सानी खोदाल्नु आएको कुखुराहरु घपाँउदै रहिछ...