Tuesday, August 26, 2014

Nepali Poem .Ramailo Sahar... Jhanai ramailo gaon...


शिर्षक: रमाईलो शहर.... तर झनै रमाईलो गाँऊ....

हो साथी,
तिम्रो शहर रमाईलो छ
साह्रै रमाईलो छ
जता-ततै रमझम
पर्यटकको घुँइचो
व्यवसायीहरुको चाँदी कटाई
ह्याण्डसम र ब्युटीहरुको ताँती
त्यो एम.जी.मार्ग, लाल बजार,
टाइटेनिक पार्क, के के हो के के....
पक्का हो साथी,
तिम्रो शहर साह्रै रमाईलो छ....॥
तर त्यो रमाईलोपनमा,
त्यो हुल-मुल, भीड़-भाड़मा
कुन्नि किन यो मन त
यो देखावटीको संसारदेखि केहि पर
मेरो गाँउतिर नै हुन्छ
त्यो पाखा-पखेरा, त्यो धुप्पि-घारी,
त्यो घुम्ती, त्यो चप्लेटी,
त्यो बर-पिपलको रुख,
त्यो आँगनमा खेल्ने ढ़ुक्कुर्र र कलचुँडा,
यो मनै त हो,
आफ्नै गाँउतिर भाग्छ....॥
ती साथी भाई संग
कहिले आँगनमा
कहिले सड़क किनारमा
कहिले ती उत्तम आमाको चिया पसलमा
गफ्फ हान्नुको मजा
यो होटल र रेस्टुँरामा कहाँ आँउछ
त्यो कलाई र हलुँगेको मगमा
जाँड़ खानुको मजा
यो बियर र वाईनमा कहाँ पाइन्छ
यो कफी र केपाचिनोमा कहाँ आँउछ....॥
त्यो बारीको काँक्रा टिपेर
कर्याप्प टोक्दाको आनन्द
यी बजारको ओईलिएको काँक्रामा कसले पाँउछ
त्यो चिप्लो नस्पतीको बोटमा चड़ेर
नस्पती झार्दाको आनन्द
आइफल किनेर खाँदा कहाँ आँउछ....
ती आमाले पोलेको तातो-तातो मकै
नुनको चियासंग खाँदाको मजा
त्यो पप-कर्न र नाना थरी
के के जातीमा कहाँ पाइन्छ....
त्यो बर-धाराको चिसो संग्लो पानी
त्यो बाँसको धारा मुनि बसी
खलङलङ नुहाउदाको मजा
यहाँको ठस-ठस ब्लिजीङ पाउडर गनाउने
सावरमा नुहाउँदा कहाँ आँउछ....
फेरि पलैंटी कसी भुइँमा बसी
हातले माड़ खानुको मजा
यो डाईनिङ टेबलमा, काँटा चम्चीमा
कसले पो पाँउछ....॥
त्यसैले... साथी,
तिम्रो शहर रमाईलो छ
साह्रै रमाईलो छ
तर मेरो गाँउ जति हैन...
मेरो ठाँउ जति रमाईलो तिम्रो शहर छैन....॥
- अमिर भण्डारी

0 comments:

Post a Comment